घण्टावार प्रार्थनाहरू

वर्तमान घण्टा

छैटौँ घडी – सेक्स्ट

हामी सलीबीकरणलाई सम्झन्छौँ र प्रभु ख्रीष्टसँग बिन्ती गर्छौँ कि उहाँले हाम्रो मनलाई पापबाट मुक्त गरिदिनुहोस र हामीलाई संसारका निम्ति उज्यालो बनाउनुहोस्।

हरेक घण्टाको प्रस्तावना

पिता, पुत्र र पवित्र आत्माको नाममा

एक परमेश्वर, आमेन।

हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, दया गर्नुहोस्। हे प्रभु, आशीर्वाद दिनुहोस्। आमेन।

पिता र पुत्र र पवित्र आत्मालाई महिमा होस्, अब र सधैं र युगानुयुगसम्म। आमेन।

हाम्रो पिता

त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,

तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।

हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।

हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।

र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’

धन्यवादको प्रार्थना

हामी उपकार गर्ने र करुणामय परमेश्वरलाई, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पितालाई, धन्यवाद दिऊँ; किनकि उहाँले हामीलाई ओढिनुभयो र मदत गर्नुभयो, र हामीलाई जोगाउनुभयो, र आफ्नो नजिक स्वीकार्नुभयो, र हामीमाथि दया गर्नुभयो, र हामीलाई सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो। उहाँलाई नै फेरि प्रार्थना गरौँ कि उहाँले हामीलाई यस पवित्र दिनमा र हाम्रो सम्पूर्ण जीवनका दिनहरूमा आफ्नो शान्तिमा जोगाउनुहोस्। सबथोकको स्वामी, हाम्रा प्रभु परमेश्वर।

हे स्वामी परमेश्वर, सर्वशक्तिमान, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पिता, हामी तपाईंलाई धन्यवाद दिन्छौँ, सबै अवस्थामा, सबै कुराकालागि, र हरेक अवस्थामा; किनकि तपाईंले हामीलाई ओढिनुभयो, मदत गर्नुभयो, जोगाउनुभयो, आफ्नो नजिक स्वीकार्नुभयो, हामीमाथि दया गर्नुभयो, सम्हाल्नुभयो, र यस घडीसम्म ल्याउनुभयो।

यस कारण हामी तपाईंको भलाइबाट माग्छौँ र अनुरोध गरौँ, हे मानवहरूप्रति प्रेम गर्नुहुने, हामीलाई अनुग्रह दिनुहोस् कि हामी यो पवित्र दिन र हाम्रा जीवनका सबै दिनहरू तपाईंको भयमा, पूर्ण शान्तिसाथ पूरा गर्न सकौँ। सबै डाह, सबै परीक्षा, र शैतानका सबै कामहरू, र दुष्ट मानिसहरूको षड्यन्त्रहरू, र लुकेका र देखिने शत्रुहरूको उठान—यी सबै हामिबाट र तपाईंका सम्पूर्ण जनहरूबाट, र यो पवित्र स्थानबाट टाढा पारिदिनुहोस्। तर जे जे शुभ र उपयोगी छ, तिनै हामीलाई दिनुहोस्। किनकि तपाईं नै हुनुहुन्छ जसले हामीलाई सर्प र बिच्छीहरू र शत्रुको सबै शक्तिमाथि पाइला राख्ने अधिकार दिनुभएको छ। र हामीलाई परीक्षामा नपुर्‍याउनुहोस्, तर हामीलाई दुष्टबाट छुटाउनुहोस्।

एकलौटा पुत्र, हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टको अनुग्रह, दया र मानिसप्रतिको प्रेमद्वारा। उहाँमार्फत नै तपाईंलाई शोभायोग्य महिमा, आदर, सामर्थ्य र आराधना, उहाँसँगै र जीवनदायी पवित्र आत्मासँग, जो तपाईं बराबर हुनुहुन्छ, अब र सधैं र युगानुयुगसम्म, आमेन।

भजन ५०

¶ सर्वशक्तिमान्, परमप्रभु परमेश्‍वर बोल्नुभएको छ, र पृथ्वीलाई सूर्योदयदेखि सूर्यास्तसम्म बलाउनुभएको छ ।

सुन्दरताको सिद्धता सियोनबाट परमेश्‍वर प्रज्‍वलित हुनुभएको छ ।

हाम्रो परमेश्‍वर आउनुहुन्छ र चूपचाप रहनुहुन्‍न । उहाँको अगि भस्म गर्ने आगो छ र उहाँको चारैतिर प्रचण्‍ड आँधी छ ।

उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्‍नुहुन्‍छ ।

“मेरा वोश्‍वासयोग्यहरूलाई मकहाँ भेला गराओ, जसले बलिदानद्वारा मसँग करार बाँधेका छन् ।”

आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला

“ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।

तिमीहरूका बलिदानको निम्ति म तिमीहरूलाई निन्दा गर्दिनँ, तिमीहरूका होमबलिहरू सदासर्वदा मेरो सामु छन् ।

तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन ।

किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् ।

पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् ।

म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् ।

के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?

परमेश्‍वरलाई धन्यवादको बलि चढाओ र सर्वोच्‍चमा आफ्नो भाकल पुरा गर ।

कष्‍टको समय मलाई पुकारा गर । म तिमीहरूलाई बचाउनेछु र तिमीहरूले मेरो महिमा गर्नेछौ ।”

तर दुष्‍टलाई परमेश्‍वर यसो भन्‍नुहुन्छ, “मेरा आदेशहरूका घोषणा गर्ने कुरा तँलाई के मतलब छ । तैंले मेरो करार तेरो मुखमा लिएको छस्,

किनभने तैंले शिक्षालाई घृणा गर्छस् र मेरा वचनलाई लत्याउँछस्?

तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।

तेरो मुखले खराबी बोल्छ र तेरो जिब्रोले छल गर्छ ।

तँ बस्छस् र तेरो भाइको विरुद्धमा बोल्छस् । आफ्नै आमाको छोराको निन्दा तैंले गर्छस् ।

तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

हे परमेश्‍वरलाई बिर्सने हो, यसलाई राम्ररी विचार गर । नत्र म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूलाई सहायता गर्न आउने कोही पनि हुनेछैन ।

धन्यवादको बलि चढाउनेले मेरो प्रशंसा गर्छ र आफ्नो मार्गलाई ठिक किसिमले योजना गर्ने कुनै पनि व्‍यक्‍तिलाई म परमेश्‍वरको उद्धार देखाउनेछु ।”

प्रार्थनाको आरम्भ

धन्य छैटौँ घण्टाको स्तुति, म यसलाई मेरा राजा र परमेश्वर ख्रीष्टलाई अर्पण गर्दछु, र उहाँले मेरा पापहरू क्षमा गरिदिनुहुनेछ भन्ने आशा गर्दछु।

भजन ५३

¶ मूर्खले आफ्नो मनमा भन्छ, “ईश्‍वर छँदैछैन ।” तिनीहरू भ्रष्‍ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही पनि छैन ।

कसैले बुझ्‍छन्, वा परमेश्‍वरलाई खोज्छन् कि भनी हेर्न उहाँले मानवजातिका सन्तानहरूलाई स्वर्गबाट हेर्नुहुन्छ ।

तिनीहरू सबै जना बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्‍ट भएका छन् । असल गर्ने कोही पनि छैन, एक जना पनि छैन ।

के अधर्म गर्नेहरूको कुनै समझ नै छैन, जसले मेरा मानिसहरूलाई रोटी खाएझैं खान्छन् र तिनीहरूले परमेश्‍वरलाई पुकारा गर्दैनन्?

डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

इस्राएलको उद्धार सियोनबाट आएको भए त हुन्थ्यो! जब परमेश्‍वरले आफ्ना मानसिहरूलाई निर्वासनबाट फिर्ता ल्याउनुहुन्‍छ, तब याकूब आनन्‍दित र इस्राएल खुसी हुनेछ ।

भजन ५६

¶ हे परमेश्‍वर, ममाथि दया गर्नुहोस्, किनकि मानिसहरूले मलाई आक्रमण गर्दैछन् । मसँग युद्ध गर्नेहरूले दिनभरि आफ्‍नो दबावमा राख्छन् ।

मेरा शत्रुहरूले मलाई दिनभरि कुल्चन्छन् । किन मेरो विरुद्धमा अहङ्कारपूर्ण किसिमले युद्ध गर्नेहरू धेरै जना छन् ।

जब म डराउँछु, तब म आफ्‍नो भरोसा तपाईंमा राख्छु ।

परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु— परमेश्‍वरमा मैले आफ्‍नो भरोसा राखेको छु । म डराउनेछैन । मानिसले मलाई के गर्न सक्छ र?

दिनभरि तिनीहरू मेरा कुराहरू बङ्ग्याउँछन् । तिनीहरूका सबै विचार खराबीको निम्ति मेरो विरद्धमा हुन्‍छन् ।

तिनीहरू आफूलाई एकसाथ भेला गर्छन्, तिनीहरू आफूलाई लुकाउँछन् र तिनीहरूले मेरा पाइलाहरू पहिल्याउँछन्, जसरी तिनीहरूले मेरो ज्‍यान लिन ढुकिबसेका छन् ।

अधर्म गरेर तिनीहरूलाई उम्कन नदिनुहोस् । हे परमेश्‍वर, तपाईंको क्रोधमा मानिसहरूलाई तल झार्नुहोस् ।

मेरा भागेर हिंडेको हिसाब तपाईंले राख्‍नुहोस् र मेरा आँसुहरू तपाईंको बोतलमा राख्‍नुहोस् । के ती तपाईंका पुस्तकमा छैनन् र?

तब मैले तपाईंलाई पुकारा गरेको दिनमा मेरा शत्रुहरू फर्केर जानेछन् । परमेश्‍वर मेरो पक्षमा हुनुहुन्छ भनी यसैबाट म जान्‍नेछु ।

परमेश्‍वर, जसको वचनको प्रशंसा म गर्छु, परमप्रभु, जसको वचनको प्रशंसा म गर्छु,

परमेश्‍वरमा म भरोसा गर्छु, म डराउनेछैन । कसले मलाई के गर्न सक्छ र?

हे परमेश्‍वर, तपाईंको निम्ति आफ्‍ना भाकलहरू पुरा गर्ने कर्तव्य ममा छ । तपाईंलाई धन्यवादका म बलिहरू चढाउनेछु ।

किनकि तपाईंले मेरो जीवनलाई मृत्युबाट बचाउनुभएको छ । तपाईंले मेरा गोडाहरूलाई लड्नबाट जोगाउनुभएको छ, ताकि म जीवितहरूका अघि परमेश्‍वरको उपस्‍थितिमा हिंड्न सकूँ ।

भजन ६०

¶ हे परमेश्‍वर, तपाईंले हामीलाई फाल्‍नुभएको छ । तपाईंले हाम्रा सुरक्षाहरू तोड्नुभएको छ । तपाईं रिसाउनुभएको छ । हामीलाई फेरि पुनर्स्थापना गर्नुहोस् ।

तपाईंले देशलाई कम्पित पार्नुभएको छ । तपाईंले यसलाई टुक्रा पार्नुभएको छ । यसका दरारहरू निको पार्नुहोस्, किनकि यो कामिरहेको छ ।

तपाईंले आफ्ना मानिसहरूलाई कठिन कुराहरू देख्‍न लगाउनुभएको छ । तपाईंले हामीलाई धरमराउने दाखमद्य पिउन लगाउनुभएको छ ।

धनुधारीहरूका विरुद्धमा प्रदर्शन गर्नलाई तपाईंलाई आदर गर्नेहरूको निम्ति तपाईंले झन्डा खडा गर्नुभएको छ । सेला

ताकि तपाईंले प्रेम गर्नुभएकाहरू बाँचून्, हामीलाई तपाईंको दाहिने बाहुलिले बचाउनुहोस् र मलाई जवाफ दिनुहोस् ।

परमेश्‍वरले आफ्नो पवित्रतामा बोल्नुभएको छ, “म आनन्‍दित हुनेछु । म शकेमलाई बाँड्नेछु र सुक्‍कोतको बेसीलाई भाग लगाउनेछु ।

गिलाद मेरो हो, मनश्‍शे मेरो हो । एफ्राइम मेरो टोप हो । यहूदा मेरो राजदण्ड हो ।

मोआब मेरो बाटा हो । एदोममा म आफ्‍नो जुत्ता फुकाल्छु । पलिश्तीको कारणले म विजयमा कराउनेछु ।”

कसले मलाई बलियो सहरमा ल्याउनेछ? कसले मलाई एदोममा लानेछ?

तर हे परमेश्‍वर, के तपाईंले हामीलाई इन्कार गर्नुभएको छैन र? तपाईं हाम्रा फौजसँग युद्धमा जानुहुन्‍न ।

शत्रुका विरुद्धमा हामीलाई सहायता दिनुहोस्, किनकि मानिसको सहायता व्यार्थको हुन्छ ।

परमेश्‍वरको सहायताले हामी विजयी हुनेछौं । उहाँले हाम्रा शत्रुहरूलाई कुल्चनुहुनेछ ।

भजन ६२

¶ परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । मेरो उद्धार उहाँबाट आउँछ ।

उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म धेरै डग्‍नेछैन ।

तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्‍न सक्छौ?

त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष्‌ ‌‌दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला

परमेश्‍वरमा मात्र म चूपचाप पर्खिन्‍छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।

उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।

मेरो उद्धार र महिमा परमेश्‍वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्‍वर हुनुहुन्‍छ ।

ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला

निश्‍चय नै निम्‍न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्‍च स्‍तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्‍छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।

थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्‍यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्‍नो हृदय तिनमा नलगाओ ।

परमेश्‍वरले एक पल्‍ट बोल्नुभएको छ, मैले यो दुई पल्‍ट सुनेको छुः शक्ति परमेश्‍वरकै हो ।

हे परमप्रभु, करारको विश्‍वस्‍तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्‍तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।

भजन ६६

¶ हे सारा पृथ्वी, परमेश्‍वरको निम्ति आनन्दले कराओ ।

उहाँको नाउँको महिमाको स्तुति गाओ । उहाँको प्रशंसालाई महिमित बनाओ ।

परमेश्‍वरलाई भन, “तपाईंका कामहरू कति भयानक छन् । तपाईंको शक्तिको महान्‌ताद्वारा तपाईंका शत्रुहरू तपाईंको अधीनतामा आउनेछन् ।

सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला

आओ र परमेश्‍वरका कामहरू हेर । मानवजातिका सन्तानहरूका निम्ति उहाँले गर्नुभएका कामहरूमा उहाँ भयवह हुनुहुन्छ ।

उहाँले समुद्रलाई सुख्खा जमिन बनाउनुभयो । तिनीहरूले नदीमा खुट्टाले हिंडेर तरे । त्यहाँ हामी उहाँमा आनन्‍दित भयौं ।

उहाँले आफ्नो शक्तिले सदासर्वदा शासन गर्नुहुन्छ । उहाँका आँखाहरूले जातिहरूलाई नियाल्छन् । विद्रोहीहरूले आफैलाई उच्‍च नपारून् । सेला

हे मानिसहरू हो, परमेश्‍वरलाई धन्‍यको भन । उहाँको प्रशंसाको आवाज सुनियोस् ।

उहाँले हामीलाई जीवितहरूका माझमा राख्‍नुहुन्छ र उहाँले हाम्रा खुट्टाहरूलाई चिप्‍लन दिनुहुन्‍न ।

हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ ।

तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो ।

तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।

म तपाईंको मन्‍दिरमा होमबलि लएर आउनेछु । म तपाईंमा आफ्‍नो भाकल पुरा गर्नेछु,

जुन म संकष्‍टमा हुँदा मेरा ओठहरूले प्रतिज्ञा गरे र मेरो मुखले बोले ।

म तपाईंलाई थुमाहरूको सुगन्धित बास्‍नासहितको पशुहरूको होमबलि चढाउनेछु । म साँढेहरू र बोकाहरू चढाउनेछु । सेला

हे सबै परमेश्‍वरको भय मान्‍नेहरू हो, आओ र सुन । र उहाँले मेरो प्राणको निम्ति के गर्नुभएको छ सो म बताउनेछु ।

मैले आफ्‍नो मुखले उहाँमा पुकारा गरें र मेरो जिब्रोले उहाँको प्रशंसा गर्‍यो ।

मैले आफ्‍नो हृदयभित्र पाप देखेको भए, परमप्रभुले मेरो पुकारा सुन्‍नुहुनेथिएन ।

तर परमेश्‍वरले साँच्‍चै सुन्‍नुभएको छ । उहाँले मेरो प्रार्थनाको आवाजमा ध्यान दिनुभएको छ ।

परमेश्‍वर धन्यको हुनुहुन्छ, जसले मेरो प्रार्थना वा उहाँको करारको विश्‍वस्‍ततालाई मबाट हटाउनुभएको छैन ।

भजन ६९

¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ ।

म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।

म आफ्‍नो चित्‍कारले थाकेको छु । मेरो घाँटी सुकेको छ । मेरो परमेश्‍वरमा आसा गर्दा मेरा आँखाहरू धमिला हुन्छन् ।

विनाकारण मलाई घृणा गर्नेहरू मेरो शिरको कपालभन्दा धेरै छन् । मेरा शत्रुहरू बनेर गलत तर्कहरू गरी मलाई नाश गर्न खोज्‍नेहरू शक्तिशाली छन् । मैले जे चोरेको थिएन, सो मैले तिर्नुपर्छ ।

हे परमेश्‍वर, तपाईंले मेरो मूर्खता जान्‍नुहुन्छ र मेरा पापहरू मबाट लुकेका छैनन् ।

हे सर्वशक्तिमान् परमप्रभु, मेरो कारणले तपाईंमा आसा राख्‍नेहरू लज्‍जित नहोऊन् । हे इस्राएलको परमेश्‍वर, मेरो कारणले तपाईंलाई खोज्‍नेहरू अनादरमा नपरून् ।

तपाईंको खातिर मैले हप्की सहेको छु । मेरो मुहार लाजले ढाकेको छ ।

मेरा भाइहरूका निम्ति म बिरानो, मेरी आमाका सन्तानहरूका निम्ति विदेशी भएको छु ।

किनको तपाईंको मन्‍दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ ।

जब म रोएँ र खाना खाइन, तब तिनीहरूले मेरो अपमान गरे ।

जब मैले भाङ्ग्रालाई मेरो लुगा बनाए, तब म तिनीहरूको ठट्टाको पात्र बनें ।

सहरको ढोकामा बस्‍नेहरूले मेरो बारेमा कुरा गर्छन् । म जड्याँहाहरूका गीत भएको छु ।

तर हे परमप्रभु, मेरो प्रर्थना तपाईंमा नै छ, कुनै समयमा तपाईंले स्वीकार गर्नुहुनेछ । तपाईंको उद्धारको विश्‍वस्‍ततामा मलाई जवाफ दिनुहोस् ।

मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् ।

बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् ।

हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।

आफ्‍नो दासबाट आफ्नो मुहार नलुकाउनुहोस्, किनकि म संकष्‍टमा छु । मलाई चाँडै जवाफ दिनुहोस् ।

मकहाँ आउनुहोस् र मलाई उद्धार गर्नुहोस् । मेरा शत्रुहरूका कारणले मोल तिरेर मेरो उद्धार गर्नुहोस् ।

मेरो हप्‍की, मेरो लाज र मेरो अपमान तपाईंलाई थाहा छ । मेरा वैरीहरू सबै मेरै सामु छन् ।

हप्कीले मेरो हृदय तोडिएको छ । म गह्रौं बोझले दबिएको छु । कोही दया गर्ने मानिस मैले खोजें, तर कोही थिएन । मैले सान्त्वना दिनेहरू खोजें, तर मैले कोही भेटिनँ ।

खानलाई तिनीहरूले मलाई विष दिए । म तिर्खाउँदा तिनीहरूले पिउनलाई सिर्का दिए ।

तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् ।

तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।

तिनीहरूमाथि आफ्‍नो क्रोध खन्याउनुहोस् र तपाईंको रिसको उग्रताले तिनीहरूलाई व्याकुल बनाओस् ।

तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।

किनकि तपाईंले प्रहार गर्नुभएको व्यक्‍तिलाई तिनीहरूले सताए । तपाईंले घाइते बनाउनुभएकाहरूका पीडा विवरण तिनीहरूले दोहोर्‍याए ।

अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।

तिनीहरूलाई जीवनको पुस्तकबाट हटाइयोस् र धर्मीहरूसँगै नलेखियोस् ।

तर म गरीब र दुःखी छु । हे परमेश्‍वर, तपाईंको उद्धारले मलाई उच्‍च स्थानमा बसालोस् ।

गीत गाउँदै म परमश्‍वरको नाउँको प्रशंसा गर्नेछु र धन्यवादको साथ उहाँलाई उच्‍च पार्नेछु ।

सिङ्हरू र खुरहरू भएका गोरु वा साँढेले भन्दा धेरै त्‍यसले परमप्रभु खुसी पार्नेछ ।

नम्रहरूले यो देखेका छन् र खुसी भएका छन् । परमेश्‍वरको खोजी गर्नेहरूको हृदय जीवित रहोस् ।

किनकि परमप्रभुले दरिद्रको पुकारा सुनुहुन्छ र आफ्‍ना कैदीहरूलाई घृणा गर्नुहुन्‍न ।

स्वर्ग र पृथ्वी, समुद्र र त्‍यसमा हलचल गर्ने हरेक थोकले उहाँको प्रशंसा गरून् ।

किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

उहाँका सेवकहरूका सन्तानहरूले यसको उत्तराधिकार प्राप्‍त गर्नेछन् । अनि उहाँको नाउँलाई प्रेम गर्नेहरू त्यहाँ बस्‍नेछन् ।

भजन ८३

¶ हे परमेश्‍वर, चूपचाप नबस्‍नुहोस्! हे परमेश्‍वर, हामीलाई बेवास्‍ता नगर्नुहोस् र कठोर नहुनुहोस् ।

हेर्नुहोस्, तपाईंका शत्रुहरूले हल्ला गर्दैछन् र तपाईंलाई घृणा गर्नेहरूले आफ्‍ना शिरहरू उठाएका छन् ।

तिनीहरू तपाईंका मानिसहरूका विरद्धमा षड्यन्त्र रच्छन् र तपाईंका सुरक्षित जनहरूको विरुद्ध मिलेर योजना गर्छन् ।

तिनीहरूले भनेका छन्, “आओ, तिनीहरूलाई जातिको रूपमा हामी नष्‍ट पारौं । तब इस्राएलको नाउँ कदापि सम्‍झना हुनेछैन ।”

तिनीहरूले एउटै रणनीतले योजना बनाएका छन् । तपाईंको विरुद्धमा तिनीहरूले मित्रता गरेका छन् ।

यसमा एदोम र इश्‍माएलका पालहरू, र मोआबका मानिसहरू र हग्री पर्छन्,

जसले गबाल, अम्‍मोन, अमालेकसँग मिलेर षड्यन्त्र रच्छन् । यसमा पलिश्‍त र टुरोसका बासिन्दाहरू पनि पर्छन् ।

तिनीहरूसँग अश्‍शूर पनि मिलेको छ । तिनीहरूले लोतका सन्तानहरूलाई सहायता गर्दैछन् । सेला

तिनीहरूलाई पनि तपाईंले मिद्यनलाई गरेझैं, सीसरालाई गरेझैं र कीशोन खोलामा याबीनलाई गरेझैं गर्नुहोस् ।

तिनीहरू एन्दोरमा नष्‍ट भए र पृथ्वीको निम्ति मलजस्तै भए ।

तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैं, र तिनीहरूका सबै शासकहरूलाई जेबह र सल्मुन्‍नझैं बनाउनुहोस् ।

तिनीहरूले भने, “हामीले आफ्नो निम्ति परमेश्‍वरको खर्क लिऊँ ।”

हे मेरो परमेश्‍वर, तिनीहरूलाई मडारिंदै उडेको धूलोझैं, हावाले उडाइको भुसैझैं बनाउनुहोस् ।

वन डढाउने आगोझैं र पहाडको आगोको ज्‍वालाझैं बनाउनुहोस् ।

तपाईंको शक्तिसाली हावाले तिनीहरूलाई लखेट्नुहोस् र तपाईंको हुरीबतासले तिनीहरूलाई त्रसित पार्नुहोस् ।

हे परमप्रभु, तिनीहरूको मुहार लाजले भर्नुहोस् ताकि तिनीहरूले तपाईंको नाउँ खोजी गरून् ।

तिनीहरू लज्‍जित होऊन् र सधैं त्रसित होऊन् । तिनीहरू अपमानमा नष्‍ट होऊन् ।

तब हे परमप्रभु, तपाईं मात्र सारा पृथ्वीमाथि सर्वोच्‍च हुनुहुन्छ भनी तिनीहरूले जान्‍नेछन् ।

भजन ८४

¶ हे सर्वशक्तिमान् परमप्रभु, तपाईं बस्‍ने ठाउँ कति सुन्दर छ!

परमप्रभुको चोकको निम्‍ति म उत्कट इच्‍छा गर्छु । यसको निम्ति मेरो इच्छाले मलाई थकित बनाएको छ । मेरो हृदय र मेरो सारा प्राणले जीवित परमेश्‍वरमा पुकारा गर्छ ।

हे सर्वशक्तिमान् परमप्रभु, मेरो राजा, र मेरो परमेश्‍वर, भँगेराले आफ्नो गुँड, अनि गौंथलीले तपाईंको वेदीहरूको नजिकै त्यसका बचेराहरू राख्‍न आफ्नो गुँड भेट्टाएको छ ।

तपाईंका मन्‍दिरमा बस्‍नेहरू धन्यका हुन् । तिनीहरूले निरन्तर तपाईंको प्रशंसा गर्छन् । सेला

त्यो मानिस धन्यको हो जसको बल तपाईंमा छ, जसको हृदयमा सियोन जाने मूलबाटो छ ।

आँसुको बेसीबाट जाँदा तिनीहरूले पिउनलाई पानीको मूलहरू भेट्टाउँछन् । सुरुको वर्षाले यसलाई आशिष्‌ले ढाक्छ ।

तिनीहरूले बलमाथि बल पाएर जान्‍छन् । तिनीहरूमध्‍ये हरेक सियोनमा परमेश्‍वरको सामु देखा पर्छन् ।

हे सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर, मेरो प्रार्थना सुन्‍नुहोस् । हे याकूबका परमेश्‍वर, म के भन्‍दैछु सो सुन्‍नुहोस् । सेला

हे परमेश्‍वर, हाम्रा ढाल हुनुहोस् । तपाईंको अभिषिक्‍त जनको निम्ति चासो देखाउनुहोस् ।

किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।

किनकि परमप्रभु परमेश्‍वर हाम्रो सूर्य र ढाल हुनुहुन्छ । परमप्रभुले अनुग्रह र गौरव दिनुहुनेछ । इमानदारितामा हिंड्नेहरूलाई उहाँले कुनै असल थोक रोक्‍नुहुन्‍न ।

हे सर्वशक्तिमान् परमप्रभु, त्यो मानिस धन्यको हो, जसले तपाईंमा भरोसा गर्छ ।

भजन ८५

¶ हे परमप्रभु, तपाईंले आफ्नो देशलाई कृपा गर्नुभएको छ । तपाईंले याकूबको भलाइलाई पुनर्स्थापना गर्नुभएको छ ।

तपाईंले आफ्ना मानिसहरूका पाप क्षमा गर्नुभएको छ । तपाईंले तिनीहरूका सबै पापहरू ढाक्‍नुभएको छ । सेला

तपाईंले आफ्नो सबै क्रोध हटाउनुभएको छ । तपाईं आफ्नो तातो रिसबाट पछि हट्‍नुभएको छ ।

हे हाम्रा उद्धारका परमेश्‍वर, हामीलाई पुनर्स्थापना गर्नुहोस् र हामीप्रति तपाईंको अप्रशन्‍नता छोडिदिनुहोस् ।

के तपाईं हामीसँग सधैं रिसाउनुहुनेछ र? के तपाईं भावी पुस्ताभरि नै रिसाउनुहुनेछ र?

के तपाईंले हामीलाई फेरि पुनर्जीवित पार्नुहुन्‍न र? तब तपाईंका मानिसहरू तपाईंमा आनन्‍दित हुनेछन् ।

हे परमप्रभु, हामीलाई तपाईंको करारको विश्‍वस्‍तता देखाउनुहोस् । हामीलाई तपाईंको मुक्‍ति दिनुहोस् ।

परमप्रभु परमेश्‍वरले जे भन्‍नुहुन्छ सो म सुन्‍नेछु, किनकि उहाँले आफ्ना मानिसहरूसित, उहाँका विश्‍वासयोग्य अनुयायीहरूसित शान्ति कायम गर्नुहुनेछ । तापनि तिनीहरू फेरि मूर्ख मार्गहरूतिर फर्कनुहुँदैन ।

निश्‍चय नै उहाँको उद्धार उहाँको भय मान्‍नेहरूका नजिक हुन्छ । तब हाम्रो देशमा महिमा रहनेछ ।

करारको विश्‍वस्‍तता र सत्‍यता मिलेका छन् । धार्मिकता र शान्तिले आपसमा चुम्बन गरेका छन् ।

सत्‍यता जमिनबाट उम्रिन्छ र धार्मिकताले आकाशबाट तल हेर्छ ।

हो, परमप्रभुले आफ्नो उत्तम आशिष्‌ ‌‌दिनुहुनेछ र हाम्रो जमिनले आफ्‍नो अन्‍नहरू उब्जाउनेछ ।

धार्मिकता उहाँको अगि जानेछ र उहाँको पाइलाहरूका निम्ति मार्ग बनाउनेछ ।

भजन ८६

¶ हे परमप्रभु, सुन्‍नुहोस् र मलाई जवाफ दिनुहोस्, किनकि म गरीब र थिचोमिचोमा परेको छु ।

मेरो सुरक्षा गर्नुहोस्, किनकि म बफदार छु । हे मेरो परमेश्‍वर, तपाईंमा भरोसा गर्ने तपाईंको सेवकलाई बचाउनुहोस् ।

हे परमप्रभु, मप्रति दयालु हुनुहोस्, किनकि म दिनभरि तपाईंलाई पुकारा गर्छु ।

तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंमा उचाल्‍नेछु ।

हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्‍छ ।

हे परमप्रभु, मेरो प्रार्थना सुन्‍नुहोस् । मेरो बिन्‍तीको सोर सुन्‍नुहोस् ।

कष्‍टको दिनमा म तपाईंलाई पुकारा गर्नेछु, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ ।

हे परमप्रभु, देवतामध्ये कसैको पनि तपाईंसँग तुलना हुँदैन । तपाईंका कामहरूझैं कामहरू भएकै छैनन् ।

हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।

किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।

हे परमप्रभु, मलाई तपाईंका मार्गहरू सिकाउनुहोस् । तब तपाईंको सत्यतामा म हिंड्नेछु । तपाईंको आदर गर्न मेरो हृयदलाई एकाग्र तुल्‍याउनुहोस् ।

हे परमप्रभु मेरो परमेश्‍वर, मेरो सारा हृदयले म तपाईंको प्रशंसा गर्नेछु । म सधैं तपाईंको नाउँलाई महिमित पार्नेछु ।

किनकि मप्रति तपाईंको करारको विश्‍वस्‍तता महान् छ । तपाईंले मेरो जीवनलाई चिहानको गहिराइबाट बचाउनुभएको छ ।

हे परमेश्‍वर, अहङ्कारीहरू मेरो विरुद्ध उठेका छन् । हिंसात्‍मक मानिसहरूका एक हुलले मेरो ज्यान मार्न खोज्छन् । तिनीहरूले तपाईंको वास्‍तै गर्दैनन् ।

तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।

मतरि फर्किनुहोस् र ममाथि दया गर्नुहोस् । आफ्नो सेवकलाई तपाईंको बल दिनुहोस् । तपाईंको सेविकाको छोरालाई बचाउनुहोस् ।

मलाई तपाईंको कृपाको चिन्ह देखाउनुहोस् । तब मलाई घृणा गर्नेहरूले यो देख्‍नेछन् र लज्‍जित हुनेछन्, किनभने तपाईं परमप्रभुले नै मलाई सहायता गर्नुभएको र मलाई सान्त्वना दिनुभएको छ ।

भजन ९०

¶ हे परमप्रभु, सबै पुस्ताभरि नै तपाईं हाम्रो सरणस्थान हुनुभएको छ ।

पहाडहरू बनाउनुअगि वा तपाईंले पृथ्वी र संसारलाई बनाउनुअगि, अनादिदेखि अनन्तसम्म नै तपाईं परमेश्‍वर हुनुहुन्छ ।

तपाईंले मानिसलाई धूलोमा फर्काउनुहुन्छ, र तपाईं भन्‍नुहुन्छ, “ए मानवजातिका सन्तानहरू हो, फर्क ।”

किनकि तपाईंको दृष्‍टिमा हजार वर्षचाहिं बितेर जाँदा हिजोको दिन र रातको एक पहरजस्तै हो ।

तपाईंले तिनीहरूलाई बाढीले झैं बढार्नुहुन्छ र तिनीहरू निदाउँछन् । बिहानमा तिनीहरू उम्रने घाँसहरूजस्तै हुन्‍छन् ।

बिहानमा त्‍यो फक्रिन्‍छ र बढ्छ । साँझमा त्‍यो ओइलाउँछ र सुक्‍छ ।

साँच्‍चै, हामी तपाईंको रिसमा नष्‍ट भएका छौं र तपाईंको क्रोधमा हामी त्रसित छौं ।

तपाईंले हाम्रा अधर्महरू आफ्‍नो सामु, हाम्रा लुकेका पापहरू आफ्‍नो उपस्थितिमा राख्‍नुभएको छ ।

हाम्रो जीवन तपाईंको क्रोधमा बितेर जान्छ । हाम्रो वर्षहरू सुस्‍सकेराझैं बित्छ ।

हाम्रा आयु सत्तरी वर्ष वा हामी स्वस्थ्य छौं भने असी वर्ष हुन्छ । तर हाम्रा उत्तम वर्षहरू पनि कष्‍ट र पीडाले पूर्ण छन् । हो, ती चाँडै बितिजन्‍छन् र हामी उडिजान्छौं ।

तपाईंको रिसको प्रचण्डता र तपाईंको भय समानको तपाईंको क्रोध कसले जान्दछ?

त्यसैले हाम्रो जीवनको विचार गर्न हामीलाई सिकाउनुहोस्, ताकि हामी बुद्धिमान् भएर जिउन सकौं।

हे परमप्रभु, फर्कनुहोस्! यो कहिलेसम्म हुनेछ? आफ्नो सेवकमाथि दया गर्नुहोस् ।

बिहान हामीलाई तपाईंको करारको विश्‍वस्‍तताले सन्‍तुष्‍ट पार्नुहोस्, ताकि हाम्रो जीवनभरि हामी आनन्‍दित र खुसी हुन सकौं।

हामीलाई विपत्तिमा पार्नुभएका दिनहरू र हामीले कष्‍ट भोगेका वर्षहरू जति थिए त्यति नै हामीलाई खुसी पार्नुहोस् ।

तपाईंको सेवकले तपाईंको काम देखोस् र हाम्रा छोराछोरीले तपाईंको ऐश्‍वर्य देखून् ।

परमप्रभु परमेश्‍वरको कृपा हाम्रो होस् । हाम्रा हातका कामहरू फलिफाप होऊन् । वास्तवमा, हाम्रा हातका कामहरू फलिफाप गरिदिनुहोस् ।

भजन ९२

¶ हे सर्वोच्‍च, परमप्रभुलाई धन्यवाद दिनु र तपाईंको नाउँको स्तुति गर्नु असल कुरा हो,

बिहानमा तपाईंको करारको विश्‍वस्‍तता र हरेक रात तपाईंको सत्यता घोषणा गर्नु,

दस तारे वीणा बजाउँदै र सारङ्गीको धुनसँगै ।

किनकि, हे परमप्रभु, तपाईंका कामहरूले तपाईंले मलाई खुसी बनाउनुभएको छ । तपाईंको हातका कामहरूको कारणले म आनन्दले गाउनेछु ।

हे परमप्रभु, तपाईंका कामहरू कति महान् छन्! तपाईंका विचारहरू धेरै गहन छन् ।

एक जना निर्दयी व्‍यक्‍तिले जान्दैन, न त मूर्खले यो बुझ्‍छः

जब दुष्‍टहरू घाँसझैं उम्रिन्‍छन्, र दुष्‍ट काम गर्नेहरू सबै जना मौलाउँछन्, तापनि तिनीहरू अनन्त विनाशतिर लागेका हुन्‍छन् ।

तर हे परमप्रभु, तपाईंले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।

वास्‍तवमा, हे परमप्रभु, आफ्‍ना शत्रुहरूलाई हेर्नुहोस् । वास्‍तवमा, आफ्ना शत्रुहरूलाई हे्र्नुहोस् । तिनीहरू नाश हुनेछन्! खराबी गर्नेहरू सबै तितरबितर हुनेछन् ।

तपाईंले मेरो सिङलाई जङ्गली गोरुको सिङझैं ठाडो पार्नुभएको छ । मलाई ताजा तेलले अभिषेक गरिएको छ ।

मेरा आँखाहरूले मेरा शत्रुहरूका पतन देखेका छन् । मेरा कानहरूले मेरा दुष्‍ट वैरीहरूका विनाश सुनेको छन् ।

धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।

तिनीहरूलाई परमप्रभुको मन्‍दिरमा रोपिएका छन् । तिनीहरू हाम्रो परमेश्‍वरको मन्दिरमा चोकमा मौलाउनेछन् ।

ती बुढा हुँदा पनि तिनले फल फलाउँछन् । ती ताजा र हरिया नै रहन्छन्,

त्‍यसले परमप्रभु न्यायी हुनुहुन्छ भनी देखाउँछ । उहाँ मेरो चट्टान हुनुहुन्‍छ र उहाँमा कुनै अधर्म छैन ।

पवित्र सुसमाचार सन्त मत्तीको अनुसार (अध्याय ५:१–१६)

¶ जब येशूले भिडलाई देख्‍नुभयो, उहाँ डाँडामाथि जानुभयो । उहाँ तल बस्‍नुभएपछि उहाँका चेलाहरू उहाँकहाँ आए ।

उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो,

“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन् ।

धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।

धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त पारिनेछन् ।

धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन् ।

धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन् ।

धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन् ।

धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।

तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।

आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

तिमीहरू यस पृथ्वीका नून हौ । तर यदि नूनले आफ्नो स्वाद गुमायो भने, यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्‍न र मानिसहरूका खुट्टाले कुल्चनबाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन ।

तिमीहरू यस संसारका ज्योति हौ । डाँडामाथि बसालिएको सहर कहिल्यै पनि लुक्‍न सक्दैन ।

न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन्, र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ ।

मानिसहरूका बिचमा तिमीहरूको ज्योति यसरी चम्कियोस्, कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखून् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून् ।

Tenoo oasht emmok o piekhristos nem pekyot en aghathos nem pi epnevma ethowab je akee ak soati emmon nai nan

हामी तपाईंलाई आराधना गर्छौँ, हे ख्रीष्ट, तपाईंका शुभ पितासँग र पवित्र आत्मासँग मिलेर, किनकि तपाईं आउनुभयो र हामीलाई बचाउनुभयो।

1. हे तपाईं, जसलाई छैटौँ दिन र छैटौँ घडीमा हाम्रो पिता आदमले स्वर्गोद्यानमा गर्न साहस गरेको पापका कारण, क्रूसमा टाँसिनुभयो—हाम्रा पापहरूको हस्तलिखित च्यातिदिनुहोस्, हे ख्रीष्ट हाम्रा परमेश्वर, र हामीलाई बचाउनुहोस्। म प्रभुलाई पुकारेँ र उहाँले मलाई सुन्नुभयो। हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्, र मेरो बिन्ती अस्वीकार नगर्नुहोस्। साँझमा, बिहानमा र मध्यान्हमा, म निवेदन गर्छु—ममा ध्यान दिनुहोस् र मलाई सुन्नुहोस्। म आफ्ना शब्दहरू भन्छु, र उहाँले मेरो स्वर सुन्नुहुन्छ र मेरो आत्मालाई शान्तिमा उद्धार गर्नुहुन्छ।

Doxa Patri ke Eioa ke Agio Pnevmati

पितालाई, पुत्रलाई र पवित्र आत्मालाई महिमा होस्।

2. हे येशू ख्रीष्ट, हाम्रा परमेश्वर, तपाईं छैटौँ घडीमा क्रूसमा टाँसिनुभयो, र काठद्वारा पापको वध गर्नुभयो; र तपाईंको मृत्युद्वारा तपाईंका नै हातहरूबाट सृष्टि गरिएको र पापमा मरेको मानिसलाई जीवित गर्नुभयो। तपाईंका उपचारक तथा जीवनदायी दुखहरूद्वारा हाम्रा पीडाहरू मारीदिनुहोस्, र जसैरा तपाईं क्रूसका किला द्वारा टाँसिनुभयो, तिनै किलाहरूको द्वारा हाम्रो मनलाई पृथ्वीका व्यर्थ काम र सांसारिक लालसाहरूको असचेतनताबाट मुक्त गरी, तपाईंका स्वर्गीय आज्ञाहरूको स्मरणतर्फ फर्काइदिनुहोस्, तपाईंको करुणा अनुसार।

Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.

अहिले र सधैं, युगानुयुगसम्म, आमेन।

3. हाम्रो धेरै पापहरूका कारण न त हामीसँग अनुग्रह छ, न त बहाना, न त धर्मीकर्ता; त्यसैले हामी तपाईंमार्फत, तपाईंबाट जन्मिनुहुने उहाँसँग—हे देवमाता कुँवारी—बिन्ती गर्छौँ, किनकि तपाईंको मध्यस्थता हाम्रा मुक्तिदातासँग प्रशस्त र मनोनुकूल छ। हे पवित्र माता, तपाईंले जन्माउनुभएको उहाँसँगको तपाईंको मध्यस्थताबाट पापीहरूलाई नछुटाउनुहोस्, किनकि उहाँ दयालु र हामीलाई बचाउन सक्ने हुनुहुन्छ; यहाँसम्म कि उहाँले हामीलाई मुक्त गर्नका लागि दु:ख भोग्नुभयो। हामी अत्यन्तै नम्र भएका छौँ, तपाईंको करुणा छिट्टै हामीमाथि आउनदिनुहोस्। हे परमेश्वर, हाम्रा मुक्तिदाता, तपाईंको नामको महिमाका निम्ति हामीलाई सहायता गर्नुहोस्। हे प्रभु, हामीलाई उद्धार गर्नुहोस् र तपाईंको पवित्र नामका खातिर हाम्रा पापहरू क्षमा गर्नुहोस्।

Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.

अहिले र सधैं, युगानुयुगसम्म, आमेन।

4. तपाईंले आफ्नो पवित्र हातहरू क्रूसमा फैलाउनुभयो र पृथ्वीको मध्यमा उद्धार गर्नुभयो, हे ख्रीष्ट हाम्रा परमेश्वर; त्यसकारण सबै जातिहरू चिच्याउँछन्, “हे प्रभु, तपाईंलाई महिमा होस्।”

Doxa Patri ke Eioa ke Agio Pnevmati

पितालाई, पुत्रलाई र पवित्र आत्मालाई महिमा होस्।

5. हामी तपाईंको अक्षय व्यक्तित्वलाई आराधना गर्छौँ, हे दयालु, हाम्रा पापहरूको क्षमाका लागि बिन्ती गर्दै, हे ख्रीष्ट हाम्रा परमेश्वर। किनकि तपाईंको इच्छाद्वारा, तपाईं क्रूसमा उचालिनु मन पराउनुभयो, ताकि तपाईंले सृष्टि गर्नुभएकोलाई शत्रुको दासताबाट मुक्त गर्न सक्नुहोस्। हामी तपाईंलाई पुकार्छौँ र धन्यवाद दिन्छौँ, किनकि तपाईं आएर संसारलाई सहायतागर्नुभयो र सबैलाई आनन्दले भरिदिनुभयो, हे मुक्तिदाता। प्रभु, तपाईंलाई महिमा होस्।

Ke nin ke a ee ke ees toos e onas toan e oa noan ameen.

अहिले र सधैं, युगानुयुगसम्म, आमेन।

6. तपाईं अनुग्रहले परिपूर्ण हुनुहुन्छ, हे देवमाता कुँवारी; हामी तपाईंलाई स्तुति गर्छौँ, किनकि तपाईंका पुत्रको क्रूसद्वारा हेडिस ढल्यो र मृत्युलाई नष्ट गरियो। हामी मरेका थियौँ तर उठाइएकाछौँ र अनन्त जीवनका योग्य बन्ट्यौँ, र पहिलो स्वर्गोद्यानको आनन्द पाइयो। त्यसकारण, हामी कृतज्ञतापूर्वक अमर ख्रीष्ट, हाम्रा परमेश्वर, लाई महिमा दिन्छौँ।

त्यसपछि आराधक प्रार्थना गर्छ:

प्रभु, हामीलाई सुन्नुहोस्, हामीमाथि दया गर्नुहोस्, र हाम्रा पाप क्षमा गर्नुहोस्। आमेन।

(प्रभु, दया गर) ४१ पटक

क्षमादान

हामी तपाईंलाई धन्यवाद दिन्छौँ, हे हाम्रा राजा, सबैको स्वामी—हाम्रा प्रभु र हाम्रा परमेश्वर र उद्धारकर्ता येशू ख्रीष्टका पिता—र तपाईंलाई महिमा दिन्छौँ; किनकि तपाईंले तपाईंका एकलौटा पुत्रका पीडाका घडीहरूलाई सान्त्वना र प्रार्थनाका घडीहरू बनाउनु भयो। हाम्रा बिन्तीहरू तपाईं आफूसमक्ष स्वीकार गर्नुहोस्, र हामीमाथि लेखिएको हाम्रा पापहरूको लेखा मेटिदिनुहोस्—जसरी तपाईंले यस पवित्र घडीमा तपाईंका एकलौटा पुत्र, हाम्रा प्रभु र उद्धारकर्ता येशू ख्रीष्टको क्रूसद्वारा यसलाई च्यातिदिनुभयो—उहाँद्वारा तपाईंले शत्रुको सम्पूर्ण शक्ति नाश गर्नुभयो।

हामीलाई, हे परमेश्वर, उज्यालो समय, निर्दोष आचरण, र शान्त जीवन दिनुहोस्; ताकि आराध्य तपाईंको पवित्र नामलाई हामी प्रसन्न पारौँ; र तपाईंका एकलौटा पुत्र येशू ख्रीष्टको भयानक र न्यायी न्यायासन अगाडि उभिँदा दण्डका निम्ति नपरोस्; र तपाईंका सबै सन्तहरूसँग मिलेर हामी तपाईंलाई महिमा गरौँ—तपाईं, आरम्भविहीन पिता, तपाईं बराबर पुत्र, र जीवनदायी पवित्र आत्मा—अब र सधैं र सबै युगयामसम्म। आमेन।

हरेक घण्टाको अन्त्यमा पढिने याचनाप्रार्थना

हामीमाथि दया गर्नुहोस्, हे परमेश्वर, अनि फेरि दया गर्नुहोस्। जसलाई हरेक बेला र हरेक घडी, स्वर्गमा र पृथ्वीमा, आराधना र महिमा गरिन्छ—हाम्रा शुभ ख्रीष्ट परमेश्वर; दीर्घधैर्यवान्, धेरै दयालु, प्रशस्त करुणाशील; जसले धर्मीहरूलाई प्रेम गर्नुहुन्छ र पापीहरूमाथि दया गर्नुहुन्छ—जसमध्ये पहिलो म हुँ; जसले पापीको मृत्यु चाहनुहुन्न तर ऊ फर्केर बाँचोस् भन्ने चाहनुहुन्छ; जसले सबैलाई उद्धारतर्फ आह्वान गर्नुहुन्छ, प्रतिज्ञा गरिएका उत्तम वस्तुहरूको निम्ति।

हे प्रभु, यस घडीमा र हरेक घडीमा हाम्रा याचनाहरू स्वीकार गर्नुहोस्। हाम्रा जीवनलाई सजिलो पारिदिनुहोस्, र तपाईंका आज्ञाहरू पालना गर्ने काममा हामीलाई मार्गदर्शन गर्नुहोस्। हाम्रा आत्माहरू पवित्र पार्नुहोस्। हाम्रा शरीरहरू शुद्ध पार्नुहोस्। हाम्रा विचारहरू सीधा गरिदिनुहोस्। हाम्रा नीयतहरू निर्मल पारिदिनुहोस्। हाम्रा रोगहरू निको पार्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्। र हामीलाइ हरेक खराब दुःख र मुटुको पीडाबाट बचाउनुहोस्। तपाईंका पवित्र स्वर्गदूतहरूद्वारा हामीलाई घेरेर राख्नुहोस्, ताकि हामी तिनीहरूको शिविरले जोगिएका र निर्देशित भई, विश्वासको एकतामा र तपाईंको अप्रत्यक्ष र असीम महिमाको ज्ञानमा पुगौँ; किनकि तपाईं अनन्तकालसम्म धन्य हुनुहुन्छ। आमेन।

हे परमेश्वर, हामीलाई कृतज्ञताका साथ यसरी भन्न योग्य बनाउनुहोस्: हे स्वर्गमा हुनुहुने हाम्रा पिता...