All books in अनलक शाब्दिक बाइबल

उत्पत्ति 32

अनलक शाब्दिक बाइबल · chapter 32

50 अध्यायहरू

अनलक शाब्दिक बाइबल / उत्पत्ति / अध्याय 32

अनलक शाब्दिक बाइबल · chapter 32

1 ¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।

2 याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्‍वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।

3 याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।

4 तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।

5 मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”

6 याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”

7 तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।

8 तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ ।

9 याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'

10 तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।

11 कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।

12 तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”

13 त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः

14 दुई सयवटा बाख्री, बिसवटा बोका,

15 तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्‍चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।

16 तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”

17 तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने

18 तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”

19 दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्‍ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्‍नू ।

20 तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”

21 त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।

22 रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।

23 यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।

24 याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।

25 ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।

26 ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ ।”

27 ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”

28 ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”

29 याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।

30 याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”

31 याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।

32 यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।