अनलक शाब्दिक बाइबल / यूहन्ना / अध्याय 21
अनलक शाब्दिक बाइबल · verses 15-19
15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।”
16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।”
17 उहाँले तिनलाई तेस्रो पटक भन्नुभयो, “यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
18 साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
19 पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”