All books in अनलक शाब्दिक बाइबल

गन्ती 12

अनलक शाब्दिक बाइबल · chapter 12

36 अध्यायहरू

अनलक शाब्दिक बाइबल / गन्ती / अध्याय 12

अनलक शाब्दिक बाइबल · chapter 12

1 ¶ मोशाले विवाह गरेका कूशी महिलाको कारण हारून र मिरियम मोशाको विरुद्धमा बोले ।

2 तिनीहरूले भने, “के परमप्रभु मोशासँग मात्र बोल्नुभएको छ र? के उहाँ हामीसँगचाहिँ बोल्नुभएको छैन र?” तिनीहरूले भनेका कुरा परमप्रभुले सुन्‍नुभयो ।

3 मोशा साह्रै नम्र मानिस थिए, तिनी संसारका सबैभन्दा नम्र थिए ।

4 त्यसै बेला परमप्रभु मोशा, हारून र मिरियमसित बोल्नुभयो, “तिमीहरू तिनै जना भेट हुने पालमा आओ ।” त्यसैले तिनै जना बाहिर आए ।

5 अनि परमप्रभु बादलको खामोमा ओर्लेर आउनुभयो । उहाँ पालको प्रवेश-द्वारमा खडा हुनुभयो अनि हारून र मिरियमलाई बोलाउनुभयो । तिनीहरू दुवै अगि आए ।

6 परमप्रभुले भन्‍नुभयो, “मेरो वचन सुन । मेरो अगमवक्‍ता तिमीहरूसँग हुँदा म आफैलाई त्यससँग दर्शनमा प्रकट गर्नेछु र त्यससँग सपनामा कुरा गर्छु ।

7 मेरो दास मोशा त्यस्‍तो होइन । त्यो मेरा सबै घरानामा विश्‍वासयोग्य छ ।

8 म मोशासँग दर्शन वा अड्कोमा होइन प्रत्यक्ष रूपमा बोल्छु । त्यसले मेरो रूप देख्छ । यसैले तिमीहरूलाई मेरो दास मोशा विरुद्ध बोल्न किन डर लागेन?”

9 परमप्रभुको क्रोध तिनीहरू विरुद्ध दन्कियो, र उहाँ तिनीहरूबाट जानुभयो ।

10 बादल पालमाथिबाट हट्यो र मिरियम अचानक कुष्‍ठरोगी भइन् । तिनी हिउँजस्तै सेतो भइन् । हारून मिरियमतिर फर्कंदा तिनले तिनलाई कुष्‍ठ रोग लागेको देखे ।

11 हारूनले मोशालाई भने, “हे मेरा मालिक, बिन्ती छ यो पाप हाम्रो विरुद्ध नलिनुहोस् । हामीले मूर्खतापूर्वक बोलेका छौँ र हामीले पाप गरेका छौँ ।

12 बिन्ती छ, तिनी आफ्नो आमाको गर्भबाट निस्कँदा नै आधा मासु कुहेको मृत जन्मेकोजस्तो नहोऊन् ।”

13 यसैले मोशाले परमप्रभुलाई पुकारे, “हे परमेश्‍वर, बिन्ती छ, उनलाई निको पारिदिनुहोस् ।”

14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि त्यसको बुबाले त्यसलाई अनुहारमा थुकेको भए, त्यो सात दिनसम्म अपमानित हुन्थ्यो । त्यसलाई छाउनी बाहिर लगेर थुन् । त्यसपछि त्यसलाई फेरि ले ।”

15 यसैले मिरियमलाई छाउनीबाहिर सात दिनसम्म थुनियो । तिनी छाउनीमा नफर्केसम्म मानिसहरूले यात्रा गरेनन् ।

16 त्यसपछि, मानिसहरू हसेरोतबाट यात्रा गरेर पारानको मरुभूमिमा छाउनी लगाए ।